
म जस्तो महिलालाई त लोग्नेको पीडा बोकेर प्रहरी कार्यालय जाँदा प्रहरीले मिल्नुपर्छ भन्दै दबाब दिन्छ भने देशको दुर दराजका महिलाको अवस्था के होला ? अब म यो भन्दा धेरै लोग्नेको यातनाको शिक…
बैशाख १७ गते बुद्ध जयन्तीको दिन । विहान ८ देखि ९ बजेसम्मको एउटा कक्षामा सहभागी भएँ । ललितपुरको गोदावरी नगरपालिकाको उपमेयर भएदेखि शुरु भएको सार्वजनिक जिम्मेवारी निर्वाह गर्ने क्रममा अरु दिन झैं त्यो दिन पनि महिला समूहले आयोजना गरेको कार्यक्रममा अतिथि भएँ ।काका ससुराको घरमा आयोजना भएको पार्टीमा सहभागी भइसके पछि सातदोबाटोमा आयोजित एक कार्यक्रममा नगरपालिकाका मेयरसँगै सहभागी सहभागी भएँ ।
चार वटा कार्यक्रममा सहभागी हुने क्रममा सयौं पटक श्रीमान्को फोन बजिरह्यो । कार्यक्रममा बोल्दै गर्दाको समय बाहेक उहाँले गरेका सबै फोन उठाएँ । प्रश्न थिए–कहाँ छस् ? को सँग छस् ? तेरो वरिपरी को–को छन् ? त्यहाँ के गर्न गइस् ? कति मिनेटमा घर पुग्छेस् ? त मेरो घर नआइज । आज तेरो अन्तिम दिन हो । घरमात्रै आइस् भने खुकुरीमा धार लगाएको छु, थाहा पाउँछेस् भनिराख्नु भो ।
यि अनि यस्ता शब्द र प्रश्न सुनेर मन अमिलो भइरह्यो । आज फेरि घरमा तनाव हुने भो भन्ने लाग्यो । मन आत्तियो । एक्लै घर आउने हिम्मत भएन ।
भक्तपुरको बालकोटमा रहेकी आमालाई फोन गरेँ । आमा आज मसँगै मेरो घर जाऔं न, ज्वाइँ फेरि बौलाएछन् । यस्तो यस्तो भन्दैछन् । तपाईं हुनु भो भने केही भन्नु हुन्न की ! भने । आमाले म जानै पर्छ र ! आमालाई पनि दुःख दिन त मन थिएन । तर ममाथि भइरहेको हिंसाको श्रृखंलाबारे आमालाई जानकारी भएकाले मात्रै त्यो दिन हुनसक्ने खतराबाट जोगिन आमालाई आग्रह गरेकी थिएँ ।
म आमालाई लिन कोटेश्वर पुगिसकेकी थिएँ । तर आमालाई मेरो घर जान मन नभएको बुझेपछि फेरि कोटेश्वरबाट गाडी घुमाएर घर आएँ ।
घर पुग्दा जग्गा सम्बन्धी विवादको विषयमा कुरा गर्न दुई जना देवरहरु घरमा आउनुभएको थियो । विवादको विषयमा कुरा राखेर उहाँहरु जानु भो । उहाँहरुको अगाडि श्रीमानले एक शब्द समेत बोल्नु भएन । म शारीरिक र मानसिक थकाईले लखतरान थिएँ । उहाँहरु गएपछि ओछ्यानमा पल्टिएँ । उहाँ कोठामा प्रवेश गर्नु भो । चुकुल लगाउनुभयो अनि प्रश्न गर्नु भो ‘तँ दिनभर कहाँ थिइ्स् ?’
मैले आफू गएका र उपस्थित भएका सबै कार्यक्रम बारे ठाउँ र समयसहित बेलिविस्तार लगाएँ । तर पनि उहाँ कुरा सुन्न तयार हुनुभएन । अपमानजनक शब्द बोल्दै हिर्काउन शुरु गर्नु भो । कहाँ कहाँ, कसरी हिर्काउनु भो थाहा पाइन् । आँखामा हिर्काउँदा त बिजुलीको झड्का लागेजस्तो मात्रै थाहा पाएँ । म ढलें । हार गुहार गर्न थाले । मेरो चिच्याहट सुनेर भाडामा बस्ने भाइहरु आउनु भो ।
उहाँलाई पिट्नबाट रोक्नु भो । भाईहरु आइसकेपछि यसको आज अन्तिम दिन बनाउँछु भन्ने सोचेको त सकिएन । खै कता गयो त्यो चिज भन्दै यताउता खोज्नु भो । सायद उहाँले मलाई मार्नकै लागि कुनै हतियार लुकाउनु भएको रहेछ । त्यो हतियार के थियो भन्ने चाहिँ देखिन ।
त्यसपछि मैले बालकोटमा रहेको भाईलाई फोन गरेँ । भाई सातदोबाटो घर पुग्यो । प्रहरीलाई खबर गरियो । टोल छिमेक सबैतिर म कुटिएको हल्ला भयो । अर्को दिन महानगरीय प्रहरी परिसर जाउलाखेलको महिला सेलमा घटना बारे निवेदन दिए । त्यही दिन मंगलबार राती साढे १० बजेको समयमा महानगरीय प्रहरी वृत्त सातदोबाटोले मेरो श्रीमान धुव्र कुँवरलाई पक्राउ गर्यो ।
ममाथि सांघातिक आक्रमण भएकै दिनबाट घटना अगाडि बढाउनु हुन्न भन्ने दबाब आउन थाल्यो । बुधबार पनि म १० बजेभित्रै महानगरीय प्रहरी परिसर जाउलाखेल पुगिसकेकी थिएँ । तर उहाँलाई सातदोबाटोबाट १२ बजेपछि मात्रै जाउलाखेल प्रहरी पुर्याइयो ।
त्यस पछि फेरि शुरु भयो उहाँको अभिनय । ‘मैले गल्ती गरेकै हो । तिमीलाई अन्याय भएकै हो । तिमीलाई थाहा छ म एक हप्तादेखि प्रेसरको औषधी खान छुटेको थियो । त्यो दिन के भयो भयो, मैले आफूलाई सम्हाल्न सकिन । तिमीमाथि अपराध गरेँ । अबदेखि यस्तो हुने कुराको कल्पना नगर । मलाई माफ देउ । तिम्रो खुट्टा ढोग्न तयार छु’ भन्न थाल्नु भो ।
जाउलाखेल प्रहरीमा मेरो कुरा सुन्ने कसैलाई चासो नै थिएन । एसएसपी आफै लोग्ने स्वास्नीबीच झगडा कसको हुन्न र ? मिलाउनुपर्छ भन्दै जोस्सिएर कुरा गरिराख्नु भो । उहाँले मेरा कुरा सुन्ने चाहाना नै देखाउनु भएन । त्यही समयमा प्रहरीले नै मेरो श्रीमानले केही दिन अगाडि मानसिक रोगको औषधी खानुपर्ने कुराको प्रमाण नै पेश गर्यो । र मानसिक रोगीलाई प्रहरीको हिरासतमा राख्नै नसकिने भन्दै घटना फिर्ता लिन दबाब दियो । अनि देवरलाई साक्षी राखेर डाक्टरको सल्लाहमा औषधीपोचार गर्ने र म उहाँसँग नबस्ने सहमतिमा कागज बनाइयो ।
०मेरो २५ वर्षको जेठो छोरा आर्मीको कमाण्डो तालिममा छन् । कान्छो छोरा बैंग्लोरमा ईन्जिनियरको परीक्षा दिँदैछन् । एक डेढ महिना भित्रै दुवै छोरा आउँछन् । अनि उनीहरु र श्रीमानलाई राखेर अब मेरो निर्णय सुनाउछु–अब धुव्र कुँवर मेरा छोराहरुको बाउ हुन्, मेरो लोग्ने थिए । अब रहँदैनन् । हामी अलग हुन्छौं ।
No comments:
Post a Comment